बीरगन्ज,१४ माघ । प्याब्सनको आयोजनामा जारी प्याब्सन जुनियर फुटबल प्रतियोगिताको पाँचौँ दिन चारवटा रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्। पाँचौँ दिनका खेलको नतिजासँगै एसआर ग्यालेक्सी, मुनलाईट विद्यालय, बिकन माध्यमिक विद्यालय र ठोरी एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन्।
पहिलो खेलमा एसआर ग्यालेक्सीले उत्कृष्ट प्रदर्शन गर्दै गुरुकुल विद्यालयलाई ३–० गोल अन्तरले पराजित गर्यो। उक्त खेलमा आलोक गिरी ‘म्यान अफ द म्याच’ घोषित भए।
दोस्रो खेलमा मुनलाईट विद्यालयले सफल एकेडेमीलाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो। मुनलाईटका प्रणव पंडित खेलका उत्कृष्ट खेलाडी घोषित भए।
तेस्रो खेलमा ठोरी एकेडेमीले नवदीप एकेडेमीविरुद्ध दबदबा कायम गर्दै ४–० गोलको फराकिलो जित निकाल्यो। ठोरीका सागर पन्तले प्रभावशाली प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’को उपाधि हात पारे।
पाँचौँ दिनको अन्तिम खेलमा बिकन माध्यमिक विद्यालयले साउथ जोन विद्यालयलाई २–० गोलले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो। बिकन माविका अंश चौधरी उत्कृष्ट खेलाडी घोषित भए।
प्रतियोगितामा विद्यालयस्तरका खेलाडीहरूको उत्साहजनक प्रदर्शन देखिएको छ भने सेमिफाइनल खेलहरू थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

