पैसाको राजनीति विरुद्ध खेलकुदको अनुशासन: बारा–४ मा अजय कुशवाहाको उदय

spot_img

 बारा, १५ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर बारा निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी माहोल तातेको छ । यसपटकको निर्वाचनमा पुराना अनुहारभन्दा नयाँ, ऊर्जाशील र भरोसायोग्य नेतृत्वको खोजीमा मतदाता देखिएका छन्, जसको प्रत्यक्ष लाभ युवा नेता अजय कुशवाहालाई पुग्ने संकेत देखिन थालेको छ ।

नेकपा एमालेका उम्मेदवार किसान श्रेष्ठ यसपटक सबैभन्दा दबाबमा देखिएका छन् । पटक–पटक दल परिवर्तन, स्थानीय सरोकारमा कमजोर उपस्थिति र ‘बाहिरी उम्मेदवार’को छविका कारण उनीप्रति जनविश्वास खस्किँदै गएको छ । २०७९ को निर्वाचनमा गठबन्धनको मतमा भर परेका श्रेष्ठको व्यक्तिगत मत कमजोर रहेको तथ्यांकले नै देखाइसकेको छ । यसपटक एमालेभित्रकै प्रभावशाली नेताहरू असन्तुष्ट हुँदा संगठित मत विभाजन हुने सम्भावना बलियो बनेको छ ।

यही पृष्ठभूमिमा नेपाली कम्युनिष्ट पार्टीका २७ वर्षीय उम्मेदवार अजय कुशवाहा चुनावी मैदानमा सबैभन्दा आशालाग्दा र चर्चित उम्मेदवारका रूपमा उदाएका छन् । राष्ट्रिय बास्केटबल खेलाडीका रूपमा स्थापित कुशवाहा युवापुस्ताको प्रतिनिधित्व गर्ने अनुहार मात्र होइन, स्वच्छ छवि, अनुशासन र जुझारु स्वभावका कारण पाका मतदातामाझ पनि लोकप्रिय बन्दै गएका छन् ।

राजनीतिमा नयाँ भए पनि कुशवाहाको सोच, व्यवहार र स्थानीय युवासँगको गहिरो सम्बन्धले उनलाई ‘भविष्यको नेता’का रूपमा स्थापित गरिरहेको छ । पैसाको बल, पहुँच र पुरानै शैलीको राजनीतिप्रति वितृष्णा बढिरहेका बेला कुशवाहाको खेलकुद पृष्ठभूमि, इमानदार छवि र परिवर्तनको सन्देश मतदाताले रुचाइरहेका छन् । धेरै मतदाताले उनलाई “व्यावसायिक राजनीति नभएको, जनतासँगै उठ्ने–बस्ने नेता”का रूपमा लिएका छन् ।

कांग्रेसबाट उम्मेदवार बनेका श्यामबाबु गुप्ता र रास्वपाका रहबर अंसारी पनि मैदानमा भए तापनि उनीहरूको उपस्थितिले कुशवाहाको बढ्दो जनसमर्थनलाई रोक्न सकेको देखिँदैन । विशेषगरी दल परिवर्तन गर्दै आएका उम्मेदवारहरूप्रति मतदातामा असन्तुष्टि बढिरहेका बेला स्थिर सोच र स्पष्ट पहिचान बोकेका युवा उम्मेदवारप्रति आकर्षण बढ्नु स्वाभाविक देखिन्छ ।

बारा क्षेत्र नम्बर ४ का मतदाताहरू यसपटक नाराभन्दा व्यवहार, पहुँचभन्दा इमानदारी र पुरानाभन्दा नयाँ नेतृत्व खोजिरहेका छन् । यही अपेक्षाको केन्द्रमा अजय कुशवाहा उभिएका छन् । युवाको ऊर्जा, खेलकुदको अनुशासन र परिवर्तनको स्पष्ट चाहनाले उनलाई यस निर्वाचनको सबैभन्दा बलियो दावेदार बनाइरहेको छ ।

पुरानो शैलीको राजनीति र नयाँ पुस्ताको आकांक्षाबीचको यो प्रतिस्पर्धामा बारा–४ ले कुन बाटो रोज्छ, त्यसको निर्णायक उत्तर फागुन २१ गते आउनेछ । तर, वर्तमान चुनावी संकेतहरूले अजय कुशवाहा बारा–४ को राजनीतिमा नयाँ युगको सुरुवात गर्न सक्ने नेताका रूपमा अघि बढिरहेको स्पष्ट देखिन्छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय