spot_img

महोत्तरीमा मोटरसाइकल लुटपाट र चोरीमा संलग्न तीन जना पक्राउ

spot_img
spot_img

महोत्तरी,१६ माघ । महोत्तरीको गौशाला नगरपालिका–१२ क्षेत्रमा भएको मोटरसाइकल लुटपाट र चोरी घटनामा संलग्न तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पक्राउ पर्नेमा गौशाला–१२ का १८ वर्षीय निर्मल साह सोनार, १८ वर्षीय नितेश कुमार कुशवाहा र १८ वर्षीय मनिष राम रहेका छन्।

बुधबार राति करिब साढे ८ बजे, गौशाला–१२ का स्थायी बासिन्दा विषेश्वर सिंह कुशवाहा डिस्कोभर नम्बर ज ५ प ४३२४ को मोटरसाइकलमा घर फर्किंदै गर्दा सुनसान स्थानमा ती युवाहरूले बाटो छेकी पछाडिबाट फलामको रड प्रहार गरेका थिए। अचानक आक्रमणबाट कुशवाहा गम्भीर घाइते भई सडकमा बेहोस भएका थिए।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गौशाला तथा प्रहरी चौकी कान्तिबजारबाट खटिएको संयुक्त टोलीले खोजतलास सुरु गरेको थियो। खोजतलासका क्रममा विहीवार गौशाला–१२ र सर्लाही सिमानामा रहेको जंगल क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय गौशालामा राखी थप अनुसन्धान भइरहेको छ। घाइते विषेश्वर सिंह कुशवाहाको उपचार भइरहेको छ। घटनापछि गौशाला क्षेत्रमा रात्रीकालीन सुरक्षाप्रति स्थानीयवासीको चिन्ता बढेको छ र उनीहरूले प्रहरी गस्ती थप प्रभावकारी बनाउन माग गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय