काठमाडौं,२२ जेठ । जनअधिकार पार्टीका अध्यक्ष डा. शरदसिंह यादवले सीमावर्ती क्षेत्रका बासिन्दाले भारतबाट ल्याउने दैनिक उपभोग्य वस्तुमा पाँच हजार रुपैयाँसम्म भन्सार शुल्क मिनाहा गरिनुपर्ने माग गरेका छन्।
सरकारले हालै पाँच सय रुपैयाँसम्मको सामान ल्याउँदा भन्सार शुल्क नलाग्ने व्यवस्था गरे पनि उक्त सीमा अपर्याप्त रहेको भन्दै यादवले त्यसप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको आवश्यकता र वास्तविकतालाई ध्यानमा राख्दै भन्सार छुटको सीमा कम्तीमा पाँच हजार रुपैयाँ कायम गर्नुपर्ने बताए। उनका अनुसार हाल निर्धारण गरिएको पाँच सय रुपैयाँको सीमा व्यवहारिक नभएको र यसले मधेस तथा सीमा क्षेत्रका सर्वसाधारणलाई अपेक्षित राहत दिन नसक्ने अवस्था रहेको छ।
“पाँच सय रुपैयाँको सीमा तोकेर सरकारले सीमावर्ती क्षेत्रमा बस्ने जनताको भावना र आवश्यकतालाई सम्बोधन गर्न सकेको छैन,” यादवले भने, “पाँच हजार रुपैयाँसम्मको सामान ल्याउँदा भन्सार शुल्क मिनाहा गर्ने व्यवस्था हुनुपर्छ।”
सीमावर्ती क्षेत्रका नागरिकहरू दैनिक उपभोगका सामग्री खरिदका लागि छिमेकी भारत जाने गरेको उल्लेख गर्दै उनले त्यस्ता नागरिकलाई सहज हुने खालको नीति आवश्यक रहेको बताए।
भन्सार सम्बन्धी सरकारी व्यवस्थाप्रति विभिन्न क्षेत्रबाट प्रतिक्रिया आइरहेका बेला अध्यक्ष यादवले सीमा क्षेत्रका जनताको हितलाई केन्द्रमा राखेर नीति पुनरावलोकन गर्न सरकारसँग आग्रह गरेका छन्।




