बारा,१६ माघ । बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट रास्वपा तर्फ प्रतिनिधिसभा सदस्यका उम्मेदवार ई. अरविन्द साहले कलैया उपमहानगरपालिका–१४ बघवनमा आफ्नो सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रम शुक्रबार शहीद दिवसको अवसरमा आयोजना गरिएको थियो।
सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै साहले देशको लोकतान्त्रिक परिवर्तनमा ज्यान गुमाएका सबै शहीदप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले विशेषगरी जेन–जी आन्दोलनका क्रममा तत्कालीन सरकारले गरेको दमन, हत्या र हिंसाप्रति ध्यानाकर्षण गराउँदै ती घटनाले मुलुकको राजनीतिक चेतनामा गहिरो प्रभाव पारेको बताए।
साहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र केही नेता तथा नेपाली काँग्रेसका नेताहरूले जेन–जी शहीदको विषयमा दिएको नकारात्मक टिप्पणीप्रति आपत्ति जनाउँदै भने, “शहीदहरूको सम्मान कुनै दल वा विचारधाराको सीमाभन्दा माथि हुनुपर्छ। देश परिवर्तनका लागि ज्यान गुमाउने हरेक शहीद हाम्रो साझा गौरव हुन्।”
सम्पर्क कार्यालय उद्घाटनअघि आयोजित घरदैलो कार्यक्रममा साहले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरे। उनले पारदर्शी शासन, रोजगारी सिर्जना, शिक्षा र प्रविधिमा लगानी, तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति आफ्नो प्राथमिकतामा रहेको बताए।
साहले रास्वपाले जेन–जी अगुवाहरूलाई प्रत्यक्ष रूपमा निर्वाचन प्रक्रियामा सहभागी गराएको उल्लेख गर्दै युवाहरूलाई निर्णय निर्माणको केन्द्रमा ल्याउने प्रतिबद्धता व्यक्त गरे।
उद्धृत गर्दै साहले भने, “देशलाई नयाँ दिशा दिन युवाहरूको ऊर्जा, सोच र नेतृत्व आवश्यक छ। हामीले जेन–जी शहीदहरूको सपना पूरा गर्न रास्वपाको एजेन्डा अघि सारेका छौँ, जहाँ सुशासन, समान अवसर र नागरिकको सम्मान केन्द्रमा छन्।” अन्त्यमा, उनले मतदातालाई रास्वपाको घण्टी छापमा मतदान गर्दै परिवर्तनको पक्षमा उभिन आग्रह गर्दै जेन–जी शहीदहरूको भावनालाई कदर गर्दै पुरानो राजनीतिक अभ्यास तोड्ने समय आएको बताए।




