बीरगन्ज,१७ माघ । प्रतिनिधि सभा निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मधेश प्रदेशभर कडा सुरक्षा व्यवस्था लागू गरिएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार तीन तहको सुरक्षा परिचालन गरिएको छ भने अतिसंवेदनशील मतदानस्थलमा ड्रोन र सीसी क्यामेरामार्फत निगरानी गरिँदैछ।
मधेश प्रदेशका आठ जिल्लामा दुई हजार १६० मतदानस्थल र चार हजार ४७१ मतदान केन्द्र रहेका छन्। तीमध्ये ५७ प्रतिशत अर्थात एक हजार २३७ मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखिएको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक गोविन्द थपलियाका अनुसार मतदाताको चाप, विगतका घटनाक्रम, सामाजिक–सांस्कृतिक अवस्था, भौगोलिक बनावट, स्थानीय मनोभावना र राजनीतिक गतिविधिलाई आधार मानेर मतदानस्थलको वर्गीकरण गरिएको हो। यसअनुसार एक हजार २३७ मतदानस्थल अतिसंवेदनशील, ७६३ संवेदनशील र १६० मतदानस्थल सामान्य श्रेणीमा राखिएका छन्।
खुला सीमा र विगतका अनुभवका कारण मधेशमा निर्वाचन सुरक्षा चुनौतीपूर्ण बन्दै गएको सुरक्षा निकायको निष्कर्ष छ। करिब ४६४ किलोमिटर खुला सीमाका कारण अवैध आवतजावत, दोहोरो मतदाता बन्ने प्रयास तथा अन्य अवाञ्छित गतिविधिको जोखिम रहेको जनाइएको छ।
यस्ता चुनौतीलाई ध्यानमा राख्दै संवेदनशील क्षेत्रहरूमा सुरक्षा सक्रियता थप सुदृढ बनाइएको डिआइजी थपलियाले जानकारी दिनुभयो। उहाँका अनुसार निर्वाचनका लागि दुई हजार ६०० नेपाल प्रहरी र दुई हजार २९५ निर्वाचन प्रहरी परिचालन गरिनेछ। सशस्त्र प्रहरी बल र नेपाली सेनाको समेत सक्रिय सहभागिताले सुरक्षा घेरा बलियो बनाइएको छ।
यसैबीच, सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालयका डिआइजी कृष्ण ढकालले प्रदेशका आठै जिल्लामा चार हजार ३३६ सशस्त्र प्रहरी र दुई हजार ८३२ निर्वाचन प्रहरी तयारी अवस्थामा राखिएको जानकारी दिए । सशस्त्रले निर्वाचन अधिकृतका कार्यालय, सुरक्षा बेस, मोबाइल र स्ट्राइकिङ टोली तथा रिजर्भ फोर्समार्फत सुरक्षा व्यवस्था मिलाएको छ।
महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार जिल्लाका २५८ मतदानस्थलमध्ये ६३ प्रतिशत अतिसंवेदनशील, ३४ प्रतिशत संवेदनशील र बाँकी सामान्य श्रेणीमा रहेका छन्। भारतको बिहार राज्यसँग जोडिएको खुला सीमालाई ध्यानमा राख्दै सीमा सुरक्षा संयोजनलाई प्राथमिकता दिइएको उनले बताए ।
प्रजिअ यादवका अनुसार भारतको सीतामढी जिल्लासँग पुस २४ गते सीमा सुरक्षा बैठक सम्पन्न भइसकेको छ भने मधुवनी जिल्लासँग फागुन ९ गते जनकपुरमा संयुक्त सुरक्षा बैठक गर्ने तयारी भइरहेको छ। यसले निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउने विश्वास लिइएको उनको बताए छ।

