रौतहट,१७ माघ । प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा यस वर्ष ५ सय ४१ मतदान केन्द्र कायम गरिएको छ। यस वर्ष १८ वटा नयाँ मतदान केन्द्र र १ नयाँ मतदान स्थल थपिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए।
निर्वाचन कार्यालयका अनुसार, हाल जिल्लामा १५२ अति संवेदनशील, १०० संवेदनशील, र २७ सामान्य मतदान स्थल रहेका छन्। नयाँ मतदान स्थल गरुडा नगरपालिका वार्ड नं. ६ मा स्थापना गरिएको छ। यस वर्ष रौतहटमा २१ हजार १५६ मतदाता थपिएर कुल ४३६,६११ मतदाता कायम भएका छन्। कार्यालय प्रमुख दासका अनुसार, मतदाता संख्या बढेसँगै मतदान स्थल र केन्द्र पनि बढाइएको हो।
२०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा रौतहटमा ५ सय २३ मतदान केन्द्र र २ सय ७६ मतदान स्थल थिए। सो चुनावमा कुल मतदाता संख्या ४१५,४५५ थियो र २ लाख ८२ हजार ४३० मतदाताले मतदान गरेका थिए।
रौतहटमा २ गाउँपालिका र १६ नगरपालिका छन्, जहाँ ४ वटा प्रतिनिधि सभा क्षेत्र रहेका छन्। २०७९ को निर्वाचनमा क्षेत्र नं. १ बाट माधव कुमार नेपाल (नेकपा एस), क्षेत्र नं. २ बाट किरण साह (स्वतन्त्र), क्षेत्र नं. ३ बाट प्रभु साह (आजपा अध्यक्ष) र क्षेत्र नं. ४ बाट देब प्रसाद तिमलसिना (नेपाली कांग्रेस) निर्वाचित भएका थिए।

