काठमाडौँ,२० माघ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, सिद्धान्त र राजनीतिक मूल्यविहीन सामाजिक सञ्जाल केन्द्रित गतिविधिले नेपाली राजनीति र समाजलाई गलत दिशातर्फ लैजाँदै गरेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरी काठमाडौँ फर्किएका दाहालले एक राष्ट्रिय सञ्चारमाध्यमसँगको विशेष अन्तर्वार्तामा पछिल्लो समय उदाएका नयाँ भनिएका राजनीतिक शक्तिहरूलाई ‘विश्व साम्राज्यवादको रणनीतिक उत्पादन’को रूपमा व्याख्या गरे।
उनले सामाजिक सञ्जालमा लोकप्रियता कमाउने उद्देश्यले भइरहेका गतिविधिहरूले जनताको विवेक र राजनीतिक चेतनालाई भ्रमित गरिरहेको टिप्पणी गरे। “बिना विचारधारा र बिना सिद्धान्त सामाजिक सञ्जालमा स्टन्ट गरेर मात्रै राजनीति गर्ने प्रवृत्तिले समाजलाई दिशाहीन बनाउँछ,” दाहालले भने। उनले यस्ता प्रवृत्तिलाई नवउदारवादी व्यवस्थाभित्रका ठूला पुँजीपतिहरूले आफ्नो स्वार्थ पूरा गर्न अघि सारेका अस्थायी र अवसरवादी शक्तिका रूपमा चित्रण गरे।
दाहालले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको उदाहरण उल्लेख गर्दै विश्वभर पुँजीवाद संकटमा परेका बेला शक्तिशाली देशहरूले कमजोर राष्ट्रहरूमा लोकप्रियतावादी पात्रहरू उत्पादन गर्ने रणनीति अपनाउने गरेको दाबी गरे। उनका अनुसार नयाँ भनिएका राजनीतिक शक्तिहरू वास्तवमा नयाँ नभई पुरानै अन्तर्राष्ट्रिय एजेन्डा बोकेका पात्रहरू हुन्।
परम्परागत दल र नेताहरूको आलोचना भइरहेका सन्दर्भमा उनले दशकौँको संघर्ष, त्याग र बलिदानबाट स्थापित राजनीतिक मूल्य–मान्यतालाई अस्वीकार गर्ने प्रवृत्तिप्रति सचेत रहन आम नागरिकलाई आग्रह गरे। “आफ्नै आमाबाबुलाई रुवाउनेले देश बनाउँछन् भन्ने सोच दुर्भाग्यपूर्ण हो,” उनले भने।
दाहालले आफू र आफ्नो पार्टी अझै पनि गणतन्त्र, संघीयता र पहिचानको रक्षामा दृढ रहेको दाबी गर्दै युवा पुस्तालाई भ्रम र आवेगको राजनीतिबाट टाढा रहन अपिल गरे। उनले युवाहरूका जायज मागप्रति सम्मान रहेको बताउँदै परिवर्तनको नाममा अराजकता र इतिहासको बदनामी स्वीकार्य नहुने स्पष्ट पारे।

