सप्तरी,२० माघ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२लाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन जिल्ला प्रशासन कार्यालय सप्तरीले निर्वाचन आचारसंहिता कडाइका साथ पालन गर्न सबै सरोकारवालालाई निर्देशन दिएको छ।
जिल्ला प्रशासनले जारी सूचनामा सञ्चार प्रतिष्ठान, कर्मचारी, सञ्चारकर्मी, राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि र अन्य सरोकारवालाहरूलाई कसैको पक्ष वा विपक्षमा प्रचार नगर्न आग्रह गरेको छ।
विशेषगरी एसएमएस, सामाजिक सञ्जाल, अनलाइन, छापा र विद्युतीय माध्यममार्फत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर वा नगरी प्रचार सामग्री प्रकाशन, प्रसारण वा शेयर गर्न नहुने सूचनामा स्पष्ट उल्लेख गरिएको छ। साथै, सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, शेयर, कमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन जस्ता गतिविधि गर्न वा गराउन नहुने चेतावनी पनि जारी गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवका अनुसार, आचारसंहिता उल्लंघन भएमा निर्वाचन आचारसंहिता २०८२ अनुसार कारबाही गरिनेछ। जिल्ला प्रशासनले सबै सरोकारवालालाई आचारसंहिता पालन गरी निर्वाचनलाई मर्यादित, निष्पक्ष र विश्वसनीय बनाउन सहयोग गर्न आग्रह गरेको छ।

