सिरहा,२० माघ । विगत ११ वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका आरोपी मिठु साफी धोवीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ। साविक औरही गाउँ विकास समिति वडा नं. ८ का ५६ वर्षीय मिठु साफीलाई माघ १५ गते गाउँघरमै लुकीछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।
घटनाको विवरण अनुसार, २०७१ भदौ १९ गते स्थानीय ४५ वर्षीय डोमा सदाय आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए। घटनाबारे अनुसन्धानका क्रममा मृतककी पत्नी अमोलिया देवी सदायले किटानी जाहेरी दिएकी थिइन्। अनुसन्धानबाट घटनाको रात मिठु साफी र डोमा सदायबीच मादक पदार्थ सेवनपछि विवाद र झगडा भएको तथ्य पुष्टि भएको थियो।
हत्याको आरोप लागेपछि फरार भएका मिठु साफीलाई जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले लामो खोजतलासपछि पक्राउ गर्न सफल भएको हो। पक्राउ परेका उनलाई माघ १९ गते सिरहा जिल्ला अदालतले म्याद थप गरी हिरासतमा राखेको छ।
सिरहा प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रमेश बहादुर पालका अनुसार घटनाको विषयमा थप कानुनी अनुसन्धान जारी रहेको छ।




