काठमाडौँ,२३ माघ । रौतहटमा चुनावी प्रचारका क्रममा प्रयोग गरिएको गाडीको ठक्करले ४ वर्षीया बालिका अलसा खातुनको निधन भएको घटनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्तब्ध भएको जनाएको छ।
रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले शुक्रबार जारी गरेको विज्ञप्तिमा पार्टीले उक्त घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ कि स्थानीय प्रशासनसँग सहकार्य गर्दै वस्तुनिष्ठ छानबिन गरिनेछ र पीडित परिवारलाई न्याय र आवश्यक सहयोग दिलाउने पक्षमा पार्टी प्रतिबद्ध छ।
पार्टीले चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन, सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन, र प्रचारमा संलग्न सबैलाई कडा निर्देशन दिइसकेको जनाएको छ। घटनामा परेकी बालिका बिहीबार रौतहटको ईशनाथ नगरपालिका–४, मठिया टोलमा गाडीको ठक्करले ज्यान गुमाएकी हुन्।

