काठमाडाैं,२३ माघ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र र संघीयताको एजेन्डा नै देशको सबैभन्दा नयाँ राजनीतिक विचार भएको दाबी गर्दै नेकपालाई नै नयाँ शक्ति भएको बताएका छन्।
नेकपा निर्वाचन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले हालसम्म २५ वटा घटकलाई एकताबद्ध गराइसकेको उल्लेख गरे। देशका अधिकांश क्षेत्रमा पार्टीको चुनावी अवस्था बलियो बन्दै गएको र नेकपा पहिलो पार्टी बन्ने सम्भावना देखिएको उनको दाबी थियो।
प्रचण्डले नयाँ भनिने राजनीतिक दलहरूसँग स्पष्ट विचार र सिद्धान्त नरहेको टिप्पणी गर्दै गणतन्त्रभन्दा नयाँ राजनीतिक एजेन्डा कसैले प्रस्तुत गर्न नसकेको बताए। उनले गणतन्त्र, संघीयता र सबैलाई पहिचान तथा अधिकार दिने नीति नै नेकपाको मुख्य आधार रहेको उल्लेख गरे। उनले अब देशको नेतृत्व गर्ने आत्मविश्वासका साथ अघि बढ्न पार्टी पंक्तिलाई आग्रह पनि गरेका थिए।

