काठमाडौँ,२४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले नेपालमा फुटबलप्रति दर्शकको आकर्षण अझै कायम रहेको उल्लेख गर्दै मोफसल क्षेत्रमा फुटबलको छुट्टै क्रेज रहेको बताएका छन्।
चुनावी अभियानका क्रममा कोशी प्रदेशमा रहेका शाहले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै काठमाडौँमा जारी राष्ट्रिय लिगका खेलहरूमा दर्शकको उपस्थिति न्यून देखिनु दुःखद भएको बताएका छन्। उनले नेपालको सबैभन्दा लोकप्रिय खेल मानिने फुटबलमा दर्शक घटेको जस्तो देखिए पनि मोफसलका गोल्डकप प्रतियोगितामा भने हजारौँ दर्शक दैनिक रूपमा खेल हेर्न पुग्ने गरेको उल्लेख गरेका छन्।
उनका अनुसार राष्ट्रिय लिगमा खेल्ने अधिकांश खेलाडी मोफसलबाट उत्पादन भए पनि लिग संरचनामा मोफसलका क्लबहरूको सहभागिता सीमित छ। केन्द्रीकृत फुटबल संरचनाका कारण काठमाडौँ बाहिरका क्लबलाई टिक्न कठिन भएको भन्दै उनले फुटबलको नीति विकेन्द्रीकरणतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याएका छन्।
शाहले फुटबलमा व्यवसायिकता विकास गर्दै खेल काठमाडौँका केही क्लबमा मात्र सीमित नरहनुपर्ने धारणा राखेका छन्। देशका विभिन्न क्षेत्रमा खेल आयोजना हुँदा स्थानीय दर्शक, क्लब र खेलाडी सबैलाई अवसर मिल्ने बताउँदै उनले भविष्यमा मोफसलका टोलीहरूले काठमाडौँका क्लब र खेलाडीलाई निमन्त्रणा गर्ने वातावरण बन्नुपर्ने उल्लेख गरेका छन्।
उनले फुटबलको अवसर अभावकै कारण खेलाडी विदेशिन नपर्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको पनि बताएका छन्।

