सुपर खुदी हाइड्रोपावरको आईपीओ फागुन ४ देखि खुल्ने

spot_img

काठमाडौं,२४ माघ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ४ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ। आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँट सम्पन्न भएपछि कम्पनीले अब सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। सोमध्ये १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र १ लाख ५५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको कम्पनीले जनाएको छ।

यसैगरी, कम्पनीले ७७ हजार ५০০ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई समेत बाँडफाँट गरिसकेको छ। दोस्रो चरणमा कर्मचारीहरूका लागि ३१ हजार कित्ता सेयर छुट्याई बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो।

उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले फागुन १० गतेभित्र आवेदन दिनुपर्नेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। आईपीओमा आवेदन दिन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय