काठमाडाै,२५ माघ । आईसीसी टी–२० विश्वकप २०२६ मा नेपालले आफ्नो पहिलो खेलमा आइतबार बलियो टोली इंग्ल्यान्डको सामना गर्दैछ । शनिबारदेखि सुरु भएको प्रतियोगितामा पहिलो दिन नै एसोसियट टोलीहरूले टेस्ट राष्ट्रलाई कडा टक्कर दिएपछि नेपाल पनि इंग्ल्यान्डविरुद्ध केही ‘विशेष’ गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।
पहिलो दिन नेदरल्यान्ड्सले पाकिस्तान, स्कटल्यान्डले वेस्ट इन्डिज र अमेरिकाले भारतलाई चुनौतीपूर्ण खेल खेलेपछि एसोसियट टोलीहरूको आत्मविश्वास थपिएको छ । यस्तो पृष्ठभूमिमा नेपालले पनि विश्व वरियतामा तेस्रो स्थानमा रहेको इंग्ल्यान्डलाई ‘अपसेट’ गर्ने सपना देखेको छ ।
नेपाली टोलीका पेस बलर सोमपाल कामीले विश्वकपअघि नै इंग्ल्यान्ड अघिल्ला संस्करणहरूमा अप्रत्याशित हार बेहोर्दै आएको उल्लेख गर्दै यसपटक त्यो सरप्राइज नेपाल हुन सक्ने बताएका थिए । तेस्रोपटक विश्वकप खेल्न लागेको नेपाल अघिल्ला दुई संस्करणमा समूह चरणबाटै बाहिरिएको थियो । यसपटक भने सुपर–८ पुग्ने लक्ष्यसहित टोली मैदानमा उत्रँदैछ ।
समूह चरणमा चारमध्ये कम्तीमा दुई खेल जित्नुपर्ने समीकरण रहेको नेपालका लागि इंग्ल्यान्डविरुद्धको खेल मनोबल बढाउने अवसर पनि हो । नेपाल र इंग्ल्यान्डबीच टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो पहिलो भेट हुनेछ ।
विश्वकपअघिको फर्म हेर्दा इंग्ल्यान्ड श्रीलंकाविरुद्धको टी–२० शृंखला जितेर आएको छ । नेपालले भने अभ्यास खेलमा क्यानडा, यूएई तथा एमसीए प्रेसिडेन्टलाई हराउँदै आत्मविश्वास बनाएको छ ।
अभ्यास र वार्मअप खेलमा विभिन्न संयोजन प्रयोग गरेको नेपालले इंग्ल्यान्डविरुद्ध आक्रामक कम्बिनेसन उतार्ने देखिन्छ । ओपनिङमा कुशल भुर्तेल र आसिफ शेख लगभग पक्का छन् भने त्यसपछि रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखको मुख्य भूमिका रहनेछ ।
वाङ्खडे मैदान पेस बलरमैत्री भएकाले करण केसी, सोमपाल कामी र नन्दन यादवसहित तीन पेसर खेल्ने सम्भावना छ । स्पिन आक्रमण सन्दीप लामिछाने र मिस्ट्री स्पिनर शेर मल्लले सम्हाल्न सक्छन् ।
नेपालको सम्भावित प्लेइङ–११
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, शेर मल्ल
इंग्ल्यान्डले भने नेपालविरुद्धको खेलका लागि आफ्नो बलियो प्लेइङ–११ सार्वजनिक गरिसकेको छ, जसमा जस बट्लर, फिल साल्ट, ह्यारी ब्रुक र जोफ्रा आर्चरजस्ता स्टार खेलाडी छन् । नेपालका लागि ओपनर कुशल भुर्तेलको प्रदर्शन निर्णायक मानिएको छ । पावरप्लेमा उनको आक्रामक ब्याटिङले नेपाललाई मजबुत सुरुवात दिलाउन सक्छ । अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर शेर मल्लको प्रदर्शनमा पनि विशेष नजर रहनेछ ।
इंग्ल्यान्डतर्फ भने फिल साल्ट र कप्तान जस बट्लर नै सबैभन्दा ठूलो चुनौती हुनेछन्, जो विश्वकै उत्कृष्ट पावर हिटरमध्ये पर्छन् ।

