अन्तिम ओभरमा चुक्यो नेपाल, इंग्ल्यान्डसँग ४ रनको हार

spot_img

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ।

इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनमा सीमित रह्यो। अन्तिम ओभरमा १० रन आवश्यक रहँदा क्रिजमा सेट ब्याटर लोकेश बम भए पनि नेपालले जित हात पार्न सकेन।

लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई उत्साहजनक सुरुवात दिलाएका थिए। तर चौथो ओभरमा आसिफ शेख आउट भएपछि छैटौँ ओभरमा कुशल भुर्तेल पनि पभेलियन फर्किए। भुर्तेलले १७ बलमा ४ चौका र १ छक्काको सहयोगमा २९ रन जोडे। दुवै ओपनर आउट हुँदा नेपालको स्कोर ४२/२ थियो।

त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले इनिङ्स सम्हाल्दै तेस्रो विकेटका लागि ८२ रनको महत्वपूर्ण साझेदारी गरे। उक्त साझेदारीले खेलको मध्य चरणमा इंग्ल्यान्डलाई दबाबमा राखेको थियो।

तर १५औँ ओभरमा साम करनले दीपेन्द्रलाई आउट गरेपछि नेपालको तेस्रो विकेट पतन भयो। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका दीपेन्द्रले २९ बलमा ६ चौका र १ छक्कासहित ४४ रन बनाए। यस क्रममा उनले टी–२०आईमा १ हजार रनको कीर्तिमान पनि पूरा गरे।

लगत्तै कप्तान रोहित पौडेल ३९ रनमा आउट भए। उनले ३४ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे। आरिफ शेखले ८ बलमा १० रनको योगदान दिए।

बलिङतर्फ इंग्ल्यान्डका लियम डसनले २ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनायो र नेपाललाई १८५ रनको लक्ष्य दिएको थियो।

इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५५ रन बनाए। कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५३ रन जोडे। विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाउँदै १ चौका र ४ छक्कासहित इनिङ्स फिनिस गरे।

ओपनर फिल साल्टलाई नेपालका डेब्युटान्ट शेर मल्लले पहिलो बलमै आउट गरेपछि इंग्ल्यान्डले सुरुआतमै झट्का बेहोरेको थियो। ५७/३ को अवस्थामा बेथेल र कप्तान ब्रूकले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले।

नेपालका बलरमध्ये दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिए। डेब्युटान्ट शेर मल्ल र सन्दीप लामिछानेले समान १–१ विकेट हात पारे।

spot_img

ताजा अपडेट

लोकप्रिय