चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

spot_img

चितवन,१६ वैशाख । चितवन राष्ट्रिय निकुञ्ज ले मध्यवर्ती क्षेत्रमा बढ्दो अतिक्रमण रोक्न कडा कदम चालेको छ। निकुञ्ज कार्यालयले १५ दिनभित्र अवैध रूपमा बनाइएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको हो।

निकुञ्ज प्रशासनका अनुसार मध्यवर्ती वन, सामुदायिक वन, कबुलियती वन, साथै सडक, खोला र नदी किनार क्षेत्रमा पछिल्लो समय अनधिकृत रूपमा घर, टहरा, पिकनिक स्थल र मचान निर्माण गरिएको भेटिएको छ। यस्ता संरचनासँगै खेतीपातीसमेत हटाउन निर्देशन दिइएको छ।

सूचना अधिकारी अविनाश थापा मगर का अनुसार सम्बन्धित पक्षलाई स्वयं हटाउने अवसर दिन सूचना जारी गरिएको हो। “निर्धारित समयभित्र नहटाएमा निकुञ्ज प्रशासनले कानुनअनुसार हटाउनेछ,” उनले बताए।

निकुञ्जले मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ अनुसार वन क्षेत्र अतिक्रमण, फँडानी वा नियन्त्रण गर्नु गैरकानुनी रहेको स्पष्ट पारेको छ। साथै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार उल्लंघन गर्नेलाई कडा कारबाही गरिने चेतावनी दिइएको छ।

निकुञ्जका अनुसार अटेर गरे बिगोको दोब्बर जरिवाना, एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ। यदि बिगो निर्धारण नभए पनि कसुरको गम्भीरताअनुसार २० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद हुन सक्छ।

निकुञ्ज प्रशासनले बढ्दो अतिक्रमणले वन तथा वन्यजन्तु संरक्षणमा असर पारिरहेको भन्दै यसलाई नियन्त्रण गर्न सक्रियता बढाएको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय