कलैया,२९ माघ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बारा निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी गतिविधि तीव्र बनेको छ। यसैक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामबाबु कुमार यादवले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्।
बिहीबार कलैया उपमहानगरपालिका–२० बसतपुरमा आयोजित घरदैलो कार्यक्रममा यादवले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, सुझाव र अपेक्षाबारे जानकारी लिएका थिए।
अभियानमा जसपा नेपालका स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। टोलटोलमा पुगेर मत माग्दै उम्मेदवार यादवले सडक पूर्वाधार सुधार, शिक्षा र स्वास्थ्य सेवाको स्तरोन्नति तथा कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




