काठमाडौं,०२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारकै सबैभन्दा ठूलो विमानवाहक युद्धपोत ‘यूएसएस जेराल्ड आर फोर्ड’लाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश दिएका छन्। ट्रम्पका अनुसार, इरानसँग सम्झौता नभए यस युद्धपोतको आवश्यकता पर्न सक्छ।
बीबीसीका अनुसार, आदेशपछि यूएसएस जेराल्ड आर फोर्ड विमानवाहक पोत क्यारेबियन सागरबाट मध्यपूर्वतर्फ जान तयारीमा छ। यससँगै अब्राहम लिंकन विमानवाहक पोत पनि उनको टास्क फोर्समा सामेल हुनेछ। अब्राहम लिंकन पोत गत महिनाको अन्त्यतिर मध्यपूर्व पुगेको थियो।
ट्रम्पले इरानमा सम्भावित सत्ता परिवर्तनबारे पनि बयान दिएका छन्। उनले भनेका छन्, “सत्ता परिवर्तन सबैभन्दा राम्रो कुरा हुने छ, जो हुन सक्छ।”
यूएसएस जेराल्ड आर फोर्ड परमाणु ऊर्जा प्रणाली (रिएक्टर) भएको विमानवाहक पोत हो। यसले एफए–१८ सुपर हर्नेट र ए–२ हकआई लडाकू विमानसहित ७५ भन्दा बढी लडाकू विमानहरू लैजान सक्छ। परमाणु रिएक्टरले परमाणु विखण्डन प्रक्रियाबाट ठूलो मात्रामा ऊर्जा उत्पादन गर्छ, जसलाई बिजुली उत्पादनमा प्रयोग गरिन्छ।

