spot_img

उत्पादन र समृद्धिको अभियानबाट जनयुद्धका बाँकी कार्यभार पूरा हुने : अध्यक्ष प्रचण्ड

spot_img
spot_img

काठमाडौँ,०२ फागुन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धबाट सुरु भएको राजनीतिक तथा सामाजिक आन्दोलन अब उत्पादन र समृद्धिको चरणमा प्रवेश गरेको बताएका छन्।

रुकुमपूर्वको भूमे गाउँपालिका–२ खाबाङ्ग बगरमा आयोजित ३०औँ जनयुद्ध दिवस कार्यक्रममा बोल्दै उनले नयाँ पुस्ताले उठाइरहेका मुद्दाहरूलाई जनयुद्धकै निरन्तरताका रूपमा व्याख्या गरे। शान्ति प्रक्रियाका क्रममा उठाइएका केही मुद्दा शक्ति सन्तुलनका कारण पूरा हुन नसकेको उल्लेख गर्दै उनले ती एजेन्डा अझै बाँकी रहेको बताए।

संविधान जारी भएको एक दशकमा विभिन्न संरचनागत सुधारका प्रयास गरिएको उल्लेख गर्दै उनले आफू नेतृत्वमा रहेको सरकारले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने नीति अघि बढाएको भए पनि सरकारबाट बाहिरिएपछि कार्यक्रम अवरुद्ध भएको दाबी गरे।

विदेशबाट फर्किएका युवालाई लक्षित उद्यमशीलता कार्यक्रम अपेक्षित रूपमा अघि बढ्न नसकेको स्वीकार गर्दै अबको राजनीतिक संघर्ष उत्पादन, रोजगारी र आर्थिक समृद्धिसँग जोडिने उनले बताए। सूचना प्रविधि, पर्यटन र कृषि क्षेत्रमा आगामी पाँच वर्षभित्र ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सकिने उनको दाबी थियो।

प्रचण्डले स्थिर सरकार सञ्चालन हुन नसक्दा नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिन भएको अनुभव सुनाउँदै संघीय संरचनामा देखिएका दोहोरो जिम्मेवारी हटाउने र नीति–बजेट प्रक्रियामा सुधार गर्ने प्रयास अधूरै रहेको बताए।

कुशासन र भ्रष्टाचारका कारण जनआक्रोश बढ्दै गएको उल्लेख गर्दै उनले लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै राष्ट्रिय एकता र उत्पादनमुखी अभियान आवश्यक रहेकोमा जोड दिए। कार्यक्रममा उनले जनयुद्धका सहिद, बेपत्ता परिवार तथा घाइतेलाई सम्मान गरेका थिए। कार्यक्रममा नेतृ पम्फा भुसाल लगायत पार्टी नेताहरूको सहभागिता रहेको थियो। आयोजकका अनुसार कार्यक्रममार्फत जनआन्दोलन र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै समृद्धितर्फ उन्मुख हुने सन्देश प्रवाह गरिएको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय