काठमाडौं,०४ फागुन । आईसीसी पुरुष टी–२० विश्वकपअन्तर्गत समूह ‘ए’ को चर्चित भिडन्तमा भारत ले पाकिस्तान लाई ६१ रनले पराजित गर्दै सुपर ८ चरणमा स्थान सुरक्षित गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद द्वारा आयोजित प्रतियोगिताअन्तर्गत श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियम मा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनायो।
भारतका ओपनर इशान किशन ले ४० बलमा ७७ रनको विस्फोटक इनिङ्स खेल्दै टोलीलाई बलियो योगफल दिलाए। उनले १० चौका र ३ छक्का प्रहार गरे। कप्तान सूर्यकुमार यादव ले ३२ रन तथा तिलक वर्मा ले २५ रन जोडे। पाकिस्तानका लागि साइम अयुब ले ३ विकेट लिए।
१ सय ७६ रनको लक्ष्य पछ्याएको पाकिस्तानको सुरुवात कमजोर रह्यो। भारतीय बलरहरूको अनुशासित प्रदर्शनका कारण पूरै टोली १७ ओभर ५ बलमा १ सय १४ रनमै अलआउट भयो। भारतका लागि जसप्रित बुमराह, वरुण चक्रवर्ती, अक्षर पटेल र हार्दिक पाण्ड्या ले समान २–२ विकेट लिए भने कुलदीप यादव र तिलक वर्माले १–१ विकेट लिए।
७७ रन बनाएका इशान किशन ‘प्लेयर अफ द म्याच’ घोषित भए। यस जितसँगै भारत सुपर ८ मा प्रवेश गर्न सफल भएको हो।
अन्य खेलतर्फ, अमेरिकाले नामिबियालाई ३१ रनले हरायो। चेन्नईमा भएको खेलमा अमेरिकाले दिएको २०० रनको लक्ष्य पछ्याएको नामिबिया १६८ रनमा सीमित भयो।
विश्वकपअन्तर्गत आज समूह ‘डी’ का अफगानिस्तान र यूएईबीच प्रतिस्पर्धा हुनेछ। साथै इंग्ल्याण्ड र इटाली तथा अष्ट्रेलिया र श्रीलंकाबीच पनि खेल हुने तालिका रहेको छ।

