काठमाडाैं,०४ माघ । जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका सात जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार फरार रहेका व्यक्तिहरूलाई प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
कार्यालयका एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकाहरू भदौ महिनामा भएको आन्दोलनपछि कारागारबाट भागेका थिए। भदौ २३ गते काठमाडौंसहित देशका विभिन्न स्थानमा भएको जेनजी आन्दोलनपश्चात् भदौ २४ गते केही कारागारहरूमा तोडफोड तथा आगजनी भएको थियो। सोही क्रममा केही कैदीबन्दीहरू फरार भएका थिए।
प्रहरीले डाँका चोरी, चोरी, मानव बेचबिखन तथा ओसारपसार, नकाबजनी चोरी, लागुऔषध र ज्यान मार्ने उद्योगजस्ता विभिन्न मुद्दामा सजाय भोगिरहेका सात जनालाई पक्राउ गरी सम्बन्धित कारागार कार्यालयमा बुझाएको जनाएको छ। प्रहरीले फरार कैदीहरूको खोजी तथा नियन्त्रणका लागि अभियान जारी रहेको समेत जानकारी दिएको छ।




