बारा,०६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अरविन्द साह ले कलैया उपमहानगरपालिका–३ बैजनाथपुरमा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्।
बैजनाथपुरका विभिन्न टोलमा पुगेर उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै मत अपिल गरेका छन्। घरदैलोका क्रममा साहले संघीय सांसदको भूमिका नीतिगत र कानुनी तहमा प्रभावकारी हुनुपर्नेमा जोड दिए।
“प्रतिनिधिसभा सदस्यको मुख्य काम नीति निर्माण, बजेट सुनिश्चित र सरकारलाई जवाफदेही बनाउनु हो,” उनले भने। क्षेत्रका लागि आवश्यक ठूला पूर्वाधार योजना, सिँचाइ आयोजना, सडक स्तरोन्नति, स्वास्थ्य तथा शैक्षिक पूर्वाधार विकासका लागि संघीय बजेट ल्याउन सक्रिय रहने उनको प्रतिबद्धता छ।
कृषि क्षेत्र सुधार, मल–बिउ आपूर्ति प्रणाली पारदर्शी बनाउने कानुनी पहल, किसानमैत्री बजार संरचना निर्माण तथा साना–मझौला उद्योगलाई कर र नीतिगत सहजीकरण गर्ने विषयलाई उनले प्राथमिकतामा राखेका छन्। साथै युवालाई रोजगारी सिर्जना गर्ने कार्यक्रम संघीय स्तरबाट अघि बढाउने उनले बताएका छन्।
नागरिकता, राहदानी र सामाजिक सुरक्षा जस्ता विषयमा देखिएका कानुनी जटिलता हटाउन आवश्यक संशोधनको पहल गर्ने तथा संसदमार्फत सुशासन र पारदर्शिताको निगरानी भूमिका सशक्त बनाउने उनको भनाइ छ। घरदैलोका क्रममा साहले मतदातालाई रास्वपाको चुनाव चिन्ह ‘घण्टी’मा मतदान गर्न आग्रह गर्दै संसदमा जनताको आवाज सशक्त रूपमा उठाउने प्रतिबद्धता दोहोर्याएका छन्। स्थानीयवासीले यसपटक नीतिगत रूपमा काम गर्ने प्रतिनिधिको आवश्यकता रहेको प्रतिक्रिया दिएका छन्।




