सप्तरी,०८ फागुन । सप्तरी को खड्क नगरपालिका–८ निवासी ७ वर्षीया नेहा खातुनलाई अपहरण गरी फिरौती माग्ने ३० वर्षीय ईम्तियाज अहमद लाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालिकालाई सकुशल उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतम कुमार केसी का अनुसार, अपहरण घटनामा प्रहरी निरीक्षक संजिव बोगटी र प्रहरी सहायक निरीक्षक हरेन्द्रप्रसाद यादव नेतृत्वको टोलीले बिहीबार साँझ रुपनी–१ स्थित खाँडो खोला नजिकबाट ईम्तियाज अहमदलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, मङ्गलबार साँझ नेहा घरबाट हराएपछि उनका परिवारजनले प्रहरीलाई जानकारी दिएका थिए। अनुसन्धानका क्रममा ईम्तियाजले बालिकाको बुवालाई फोन गरेर फिरौती माग्दै खाँडो खोलामा बोलाएका थिए।
उद्धारपछि ईम्तियाजलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा कानूनी कारबाही अगाडि बढाइने तयारी भइरहेको छ।

