रौतहट,०८ फागुन । रौतहटका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले चुनावी प्रचारप्रसारका क्रममा भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरिरहेको पाइएको छ। यस्तो प्रयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै स्थानीय स्तरमा गुनासो बढेको छ।
जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी सहित अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूले भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरेको देखिएको छ। ती सवारी साधनमा दलका झण्डा र ब्यानर टाँसेर घरदैलो र प्रचार अभियान सञ्चालन भइरहेको छ।
स्थानीयका अनुसार ठूलो सङ्ख्यामा विदेशी नम्बर प्लेटका गाडी प्रयोग हुँदा मतदातामा त्रास सिर्जना भएको छ। सामाजिक सञ्जालमा समेत त्यस्ता गाडी प्रयोग भएका भिडियो र तस्बिर सार्वजनिक भइरहेका छन्। तर, निर्वाचन कार्यालय, जिल्ला प्रशासन, ट्राफिक प्रहरी र अन्य सुरक्षा निकायले प्रभावकारी कदम नचालेको भन्दै आलोचना भइरहेको छ।
निर्वाचन आचारसंहिता, २०८२ अनुसार विदेशी नम्बर प्लेटका सवारी साधनलाई चुनावी प्रचारमा प्रयोग गर्न स्पष्ट रूपमा रोक लगाइएको छ। सवारी साधन प्रयोग गर्दा निर्वाचन अधिकृतको अनुमति अनिवार्य हुने व्यवस्था छ, तर विदेशी सवारी साधनका लागि यस्तो अनुमति प्रदान गरिँदैन।
यस विषयमा सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादव ले गुनासो प्राप्त भएको स्वीकार गर्दै अनुगमनलाई थप प्रभावकारी बनाइने बताएका छन्। उनले प्रहरी जनशक्ति सीमित भएकाले पूर्ण नियन्त्रणमा चुनौती भए पनि आचारसंहिता कार्यान्वयनका लागि आवश्यक कदम चालिने बताए।
स्थानीय सरोकारवालाहरूले निष्पक्ष र मर्यादित निर्वाचन सुनिश्चित गर्न आचारसंहिता कडाइका साथ लागू गर्न प्रशासनसँग माग गरेका छन्।

