रौतहट,०८ फागुन । रौतहटको गौर–चपुर सडक खण्डमा शुक्रबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। बिहान करिब ११:३० बजे दाल मिल नजिक बस अनियन्त्रित भई सडक छेउको विद्युत पोलमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनाको समयमा बसमा करिब ४० जना यात्रु सवार थिए। घाइते हुनेमा रौतहट, बारा, मकवानपुर तथा भारतका विभिन्न स्थानका यात्रुहरू रहेका छन्। उनीहरूमा रञ्जय यादव, विनोद बैठा, निरज कुमार गुप्ता, नुर महम्मद, सुनिता केशरी, लसिभ सहनी, देव नारायण बैठा, सुभम कुमार बैठा र ललन साह रहेका छन्।
प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको छ। अधिकांशलाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा लगिएको छ भने केहीलाई थप उपचारका लागि वीरगंज र अन्य अस्पतालमा रेफर गरिएको छ।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहट बाट खटिएको टोलीले बस चालक रिजवान खानलाई नियन्त्रणमा लिएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीका अनुसार दुर्घटनापछि सडक अवरुद्ध नभएको र अन्य यात्रुहरू सुरक्षित रूपमा गन्तव्यतर्फ प्रस्थान गरेका छन्। दुर्घटनाग्रस्त बसलाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अघि बढाइँदै छ।

