काठमाडौं,०८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल को आगमन टनेल गेटबाट आज करिब ११ किलो २७० ग्राम अवैध लागूऔषध गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा ४३ वर्षीय समीना अख्तर बैग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद र ४४ वर्षीय अफसाना अमीर हुसेन शेख रहेका छन्।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो बाट खटिएको टोलीले मोहम्मद जुनैद र समीना अख्तर बैग मिर्जाबाट करिब ३ किलो ८७० ग्राम र अफसाना शेखबाट करिब ७ किलो ४०० ग्राम गाँजा बरामद गरेको प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले ले जानकारी दिए।
तीनै पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको छ।




