बुटवल,०९ फागुन । प्रधानमन्त्री सुशीला कार्की शनिबार बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरिन्। भ्रमणको क्रममा उनले लुम्बिनीस्थित भारत सरकारको सहयोगमा बनेको संग्रहालय अवलोकन गरेकी छन्। प्रधानमन्त्री कार्कीले ५ हजार जनाशक्ति क्षमताको सभाहल र थाई बिहार पनि अवलोकन गरेकी छन्। त्यसपछि उनले मायादेवी मन्दिर दर्शन गरी छोटो पूजा गरेकी छन्।
भ्रमणमा उनलाई लुम्बिनी विकास कोषका सदस्य सचिव दिपक श्रेष्ठ, कार्यकारी सदस्य श्याम रोक्का, विश्व पौडेल, वरिष्ठ निर्देशक ज्ञानिन राई लगायतले औपचारिक स्वागत गरेका थिए।
भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले लुम्बिनीको ऐतिहासिक र धार्मिक महत्वबारे जानकारी लिँदै यसको संरक्षणका कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सुझाव दिइन्। उनले लुम्बिनी नेपाल मात्र नभई विश्वकै साझा सम्पदा भएको उल्लेख गर्दै विकास गर्दा मौलिकता, शान्ति र धार्मिक सहिष्णुतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिइन्।
प्रधानमन्त्री कार्कीले लुम्बिनी विकास कोष, स्थानीय समुदाय र सरोकारवालाबीच समन्वय गरेर दीर्घकालीन गुरुयोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको पनि बताइन्। भ्रमणको क्रममा विकास कोषका पदाधिकारीहरूले हालसम्म भएका विकास निर्माण कार्य, भावी योजना र चुनौतीहरूबारे जानकारी दिएका थिए।
कार्यकारी सदस्य श्याम रोक्का का अनुसार प्रधानमन्त्रीको भ्रमणले लुम्बिनी क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन महत्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप उजागर गर्ने अपेक्षा गरिएको छ।

