रौतहट,१० फागुन । रौतहटकाे गौर नगरपालिका–६ सबगढामा भएको साम्प्रदायिक झडपपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा नियन्त्रणमा नआएकाले जिल्ला प्रशासन कार्यालय रौतहटले लगाएको कर्फ्यु आदेश आज पनि कायम राखेको छ। प्रशासनले बिहान ६ः३० देखि ८ः३० बजेसम्म मात्र कर्फ्यु केही समयका लागि खुकुलो बनाएको थियो, त्यसपछि पुनः पूर्ण कर्फ्यु लागू गरिएको छ।
तनावपछि भारत–नेपाल सीमा क्षेत्रमा पनि सुरक्षा कडाइ गरिएको छ। सीमामा बेरियर राखेर सवारी आवागमन रोकिएको छ भने आवतजावत गर्नेहरूले अनिवार्य रूपमा पहिचान खुल्ने कागजात देखाउनुपर्ने व्यवस्था लागू गरिएको छ।
गौरमा पुनः हिंसात्मक घटना हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिब ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ। संवेदनशील स्थानहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।
प्रशासनले साम्प्रदायिकता भड्काएको आरोपमा जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जमसैदसहित २० जनालाई नियन्त्रणमा लिएको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको निर्देशनमा प्रहरीले जमसैदलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। उनीमाथि समाजमा अशान्ति फैलाउने र धार्मिक सद्भाव बिगार्ने आरोप लगाइएको छ।
यसैगरी, गौर नगरपालिका–६ का वडाध्यक्ष अबधविहारी साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रशासनका अनुसार, उनले तनाव कम गर्नुको सट्टा झन् भड्काउने भूमिका खेलेको आरोप छ।
बिहीबार राति सुरु भएको विवाद शुक्रबार प्रशासनको उपस्थितिमा ६ बुँदे सहमतिमा टुंगिएको थियो। तर शनिबार बिहान सार्वजनिक भएका केही अडियो क्लिपपछि पुनः तनाव बढेको थियो। त्यसपछि भएको झडपमा दुई पक्षबीच ढुंगामुढा हुँदा ६ जना घाइते भएका छन्।
स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै ५ राउन्ड हवाई फायर र ७९ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। झडपका क्रममा एक भारतीय नम्बर प्लेटको स्कार्पियो, एक ई–रिक्सा र पाँच मोटरसाइकलमा आगजनी भएको छ भने थप एक दर्जन मोटरसाइकलमा क्षति पुगेको छ।
प्रशासनले आज सर्वपक्षीय बैठक बोलाएर स्थायी समाधान खोज्ने तयारी गरेको जनाएको छ।

