काठमाडौं,१० फागुन । डोनाल्ड ट्रम्प ले अमेरिकामा आयात हुने वस्तुहरूमा अधिकतम १५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। अमेरिकी सर्वोच्च अदालत ले यसअघि लगाइएको आयात कर खारेज गरेपछि ट्रम्पले नयाँ व्यापार कानुन प्रयोग गर्दै यो कदम चाल्ने बताएका हुन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल मार्फत सन् १९७४ को ट्रेड एक्टको धारा १२२ अन्तर्गत नयाँ अस्थायी कर लागू गर्ने घोषणा गरेका हुन्। यो कर करिब पाँच महिनासम्म मात्र लागू हुन सक्नेछ र त्यसपछि निरन्तरताका लागि अमेरिकी कांग्रेसको स्वीकृति आवश्यक पर्नेछ।
यसअघि उनले सबै आयातमा १० प्रतिशत कर लगाउने बताएका थिए। अब उक्त दर बढाएर अधिकतम १५ प्रतिशतसम्म पुर्याउने तयारी गरिएको हो। यो नयाँ कर दर २४ फेब्रुअरीदेखि लागू हुन्छ कि हुँदैन भन्नेबारे भने अझै स्पष्ट पारिएको छैन।
सर्वोच्च अदालतले ६–३ को बहुमतमा फैसला गर्दै ट्रम्प प्रशासनले सन् १९७७ को इन्टरनेशनल इमर्जेन्सी इकनोमिक पावर्स एक्ट प्रयोग गरेर लगाएको विश्वव्यापी कर अधिकारको सीमाभन्दा बाहिर भएको ठहर गरेको थियो। अदालतको उक्त निर्णयपछि ट्रम्पले त्यसलाई ‘कमजोर र अमेरिका विरोधी’ भन्दै कडा आलोचना गरेका छन्।
नयाँ कर घोषणाले बेलायत, अष्ट्रेलिया लगायत अमेरिकासँग व्यापार सम्झौता गरेका देशहरूमा अन्योल बढाएको छ। यद्यपि केही महत्वपूर्ण वस्तुहरू जस्तै खनिज, औषधि र धातुमा भने छुट दिइने जनाइएको छ। स्टिल, एल्युमिनियम, काठ र सवारीसाधनमा यसअघि लागू गरिएका अलग कर भने यथावत रहनेछन्।
ट्रम्पले यो नीति अमेरिकाको व्यापार घाटा घटाउने, घरेलु उत्पादन बढाउने र व्यवसायलाई अमेरिकाभित्रै लगानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको बताएका छन्। तर आलोचकहरूले भने यस्तो कदमले अन्तर्राष्ट्रिय व्यापारमा तनाव र अनिश्चितता बढाउने चेतावनी दिएका छन्।
विश्लेषकहरूका अनुसार सर्वोच्च अदालतको निर्णयले ट्रम्पको व्यापार नीतिमा चुनौती थपेको छ, तर नयाँ कर घोषणाले उनी आफ्नो आर्थिक एजेन्डामा अझै आक्रामक रूपमा अघि बढ्ने संकेत दिएका छन्।

