राैतहट,१२ फागुन । नेपाली कांग्रेसले रौतहट क्षेत्र नम्बर २ मा डा. मोहम्मद फिरदोश आलमलाई प्रतिनिधिसभा चुनावको मैदानमा उतारेको छ । उनी मोहम्मद आफताब आलमका छोरा हुन् । ३९ वर्षीय आमल रौतहट राजपुर नगरपालिका राजपुर फरहदवाका स्थानीय बासिन्दा हुन् । एमबीबीएससम्मको अध्ययन गरेका उनले प्रहरी निरीक्षक प्राविधिकका रूपमा समेत काम गरेका थिए ।
यो क्षेत्रमा उनी दोस्रो पटक निर्वाचन लड्न लागेका हुन् । गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाटै उठेका उनी दोस्रो बनेका थिए । सो निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरणकुमार साह विजयी भएका थिए । साहले ३२ हजार ८४२ मत ल्याउँदा आलमले २८ हजार २४८ मत मात्र प्राप्त गरेका थिए । रौतहट-२ मा २०७४ सालमा भने कांग्रेसका मोहम्मद आफताब आलमले जित निकालेका थिए ।
२०७९ सालमा कांग्रेसलाई माओवादीसहितका दलको समेत समर्थन थियो । सो बेला समेत पराजित भएका उनलाई यस पटक पुनः किरणकुमार साहले नै चुनौती दिँदैछन् । साह स्वतन्त्रबाट निर्वाचन लडे पनि एमाले प्रवेश गरेका थिए । यस पटक भने उनी नेकपाबाट निर्वाचनमा होमिएका छन् । कांग्रेसले युवा तथा स्थानीय उम्मेदारका रूपमा पुनः आलमलाई अगाडि सार्दा उनको मुख्य प्रतिस्पर्धा साहसँगै हुने देखिएको छ ।
आलमका बुबा आफताबको भने यस वर्ष निधन भएको छ । आफताब सांसद पदमा बहाल रहेकै बेला पक्राउ परेका थिए । छोरा फिरदोशले नेपाल प्रहरीको जागिर छाडेका थिए । सो क्षेत्रमा आलम परिवारको राम्रो प्रभाव छ ।
उनका पिता आफताबले २०५४ र २०५६ सालमा चुनाव जितेका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा समेत उनी निर्वाचित भए । २०७० सालमा भने पराजित भएका थिए । २०७४ मा आफताब पुन: विजयी भएका थिए । आफ्नो हजुरबुबा र बुबाको गहिरो विरासत भएको यो क्षेत्रमा आलमको परीक्षा हुँदैछ ।

