spot_img

रौतहटमा तीन अस्थायी मतदान केन्द्र निर्धारण, दुई केन्द्रमा महिला कर्मचारीको नेतृत्व

spot_img
spot_img

रौतहट,१३ फागुन । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा तीनवटा अस्थायी मतदान केन्द्र तोकिएका छन्। जिल्ला निर्वाचन कार्यालय, रौतहटका प्रमुख छोटेलाल दासका अनुसार क्षेत्र नं. १ अन्तर्गत जिल्ला अदालत गौर परिसर र गौर कारागार परिसर तथा क्षेत्र नं. ४ अन्तर्गत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर परिसरमा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको हो।

ती केन्द्रहरूमा जगेडामा रहने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका सुरक्षाकर्मी, कर्मचारी तथा कारागारमा रहेका कैदीबन्दीले मतदान गर्न पाउने व्यवस्था गरिएको छ। गौर कारागारमा ६३ जना कैदीबन्दी मतदाता नामावलीमा सूचीकृत रहेको कारागार प्रशासनले जनाएको छ। प्रत्येक अस्थायी मतदान केन्द्रमा दुई–दुई जना कर्मचारी खटाइने व्यवस्था मिलाइएको छ।

जिल्लाका चार निर्वाचन क्षेत्रमा २७७ मतदानस्थल र ५४१ मतदान केन्द्र छन्। १८ पालिका रहेको रौतहटमा यस वर्ष ४ लाख ३६ हजार ६११ मतदाता रहेका छन्। ती केन्द्रमा १ हजार ४६ जना कर्मचारी खटाइसकिएको जनाइएको छ।
दुई मतदान केन्द्रमा पूर्ण महिला टोली
गौर नगरपालिका–५ स्थित आधारभूत विद्यालय बालमन्दिर भवन मतदानस्थलका दुई मतदान केन्द्रमा भने महिला कर्मचारी मात्रै खटाइएको छ। ‘क’ केन्द्रमा आस्था शर्मा पौडेल मतदान अधिकृत तथा ‘ख’ केन्द्रमा सब्रिना खातुन मतदान अधिकृतका रूपमा नेतृत्व गरिरहेकी छन्। दुवै केन्द्रमा सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीसमेत महिला नै छन्।

क्षेत्र नं. १ मा १३२ मतदान केन्द्र रहेका छन्। ती केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई फागुन ९ गते नै आवश्यक तालिम दिइसकिएको जिल्ला मुख्य निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिएका छन्।
आचारसंहिता उल्लङ्घन नगर्न प्रशासनको चेतावनी
जिल्ला प्रशासन कार्यालय, रौतहटले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गर्दै उल्लङ्घन गर्नेलाई कारबाही गरिने जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवद्वारा जारी सूचनामा निर्वाचन र फागु पर्वलाई मर्यादित, सभ्य र अनुशासित रूपमा मनाउन सबै राजनीतिक दल, उम्मेदवार, धार्मिक संघसंस्था र नागरिकलाई आह्वान गरिएको छ।

भीडभाड हुने कार्यक्रम सञ्चालन गर्नुअघि अनिवार्य रूपमा प्रशासनबाट अनुमति लिनुपर्ने उल्लेख गर्दै अनुमति बिना मेला, जात्रा वा कार्यक्रम नगर्न सचेत गराइएको छ। कसैको इच्छाविपरीत रङ दल्ने, लोला हान्ने, अमर्यादित व्यवहार गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने वा ध्वनि प्रदूषण फैलाउने कार्य कानुनविपरीत हुने प्रशासनले जनाएको छ।

निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी, कर्मचारी तथा सर्वसाधारणलाई दुःख हैरानी पुग्ने गतिविधि नगर्न पनि प्रशासनले अनुरोध गरेको छ। कानुनविपरीत कार्य गरे प्रचलित कानुनअनुसार कारबाही हुने स्पष्ट पारिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय