रौतहट,१४ वैशाख । रौतहटको मौलापुर नगरपालिकामा सञ्चालन हुँदै आएका ‘फ्रि बिजुली, फ्रि पानी’ तथा छोरीको विवाहमा नगद सहयोगजस्ता जनमुखी कार्यक्रमको भुक्तानी रोकिएको विषयले विवाद चर्किएको छ।
नगरप्रमुख रिनाकुमारी साह ले प्रमुख प्रशासकीय अधिकृतले “माथिको आदेश” भन्दै भुक्तानी रोकेकोप्रति कडा आपत्ति जनाएकी छन्। उनले नगरवासीले पाउँदै आएको सेवा रोक्ने प्रयासलाई षड्यन्त्रको संज्ञा दिँदै कानुनविपरीत हस्तक्षेप स्वीकार्य नहुने बताएकी छन्।
मेयर साहले संघीय सरकारतर्फ संकेत गर्दै स्थानीय सरकारलाई संविधानअनुसार काम गर्न नदिइएको गुनासो समेत व्यक्त गरिन्। साथै, प्रशासनिक अधिकृतले बैठकको कार्यसूची आफैं तय गर्ने र निर्णय प्रमाणीकरणमा समेत हस्तक्षेप गर्ने गरेको आरोप उनले लगाएकी छन्।
मौलापुर नगरपालिका यस्ता सामाजिक तथा जनहितका कार्यक्रमका कारण चर्चित रहँदै आएको छ। अन्य स्थानीय तहले समेत अनुकरण गरिरहेका यी योजनाहरू रोक्न खोजिएको भन्दै मेयर साहले चाँडै समाधान निस्किने विश्वास व्यक्त गरिन्।
यता, कार्यक्रमको भुक्तानी रोकिएपछि स्थानीय बासिन्दाले संघर्ष समिति गठन गर्दै आन्दोलन घोषणा गरेका छन्। समितिले वैशाख १३ देखि अन्तरक्रिया र हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ भने वैशाख १५ मा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, वैशाख २१ मा विरोध प्रदर्शन गर्ने र जेठ ४ गतेदेखि नगरपालिकामा तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।
स्थानीयले सेवा सुविधा निरन्तरता दिनुपर्ने माग गर्दै दबाब बढाइरहेका छन्।

