राैतहट,१४ फागुन । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले)ले रौतहट क्षेत्र नम्बर ४ मा रामजी साह सोनारलाई मैदान उतारेको छ ।
साहको जन्म १२ भदौ २०३६ मा रौतहटको गरुडा नगरपालिका गरुडा वैरियामा भएको हो । उनले प्रवीणता प्रमाणपत्र तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा एमालेले उद्धवप्रसाद रेग्मीलाई टिकट दिएको थियो । तर उनी दोस्रो भएका थिए ।
कांग्रेसका देवप्रसाद तिमिल्सिनाले ३४ हजार १६१ भोट पाउँदा एमालेका रेग्मीले २६ हजार ५५९ मत पाएका थिए । गत निर्वाचनमा कांग्रेसलाई तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले समेत समर्थन गरेका थिए ।
यस पटक प्रतिस्पर्धा एकल हुनेछ । यसको लाभ एमालेलाई हुनसक्छ । यो क्षेत्रमा २०७० सालमा एमालेले चुनाव जितेको थियो । तर सो बेला चुनाव जितेका रामकुमार भट्टराई यस पटक नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट चुनाव लडेका छन् । साह पेसाले सुनचाँदी व्यवसायी हुन् । उनले यसअघि नेपाल सुनचाँदी व्यवसायी संघ मधेश प्रदेश अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

