राैतहट–४ का उम्मेदवार रामकुमार भट्टराई काे हुन ?

spot_img

राैतहट,१४ फागुन । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट रौतहट क्षेत्र नं. ४ मा रामकुमार भट्टराई मैदानमा उत्रिएका छन् । पाँचकुने तारा चुनाव चिह्नबाट चुनाव लडिरहेका भट्टराईको प्रतिस्पर्धा यस क्षेत्रमा साविक विजेता देवप्रसाद तिमल्सिनासहित पत्रकार ऋषि धमलालगायतसँग हुँदैछ।

८ भदौ २०२० सालमा रौतहटको चन्द्रपुर नगरपालिका–चन्द्रनिगाहपुरमा जन्मिएका भट्टराई सोही नगरपालिका-५ का स्थानीय हुन्। प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका उनी यस क्षेत्रका पुराना र निरन्तर सक्रिय कम्युनिस्ट नेताका रूपमा चिनिन्छन्।

२०३५–३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका भट्टराई लामो समय नेकपा एमालेमा सक्रिय रहे । एमाले विभाजन हुनुअघि उनले जिल्लाको प्रमुख नेतृत्व सम्हाल्दै स्थानीयस्तरमा संगठन विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।

तत्कालीन माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच एकता हुनुअघि उनी एकीकृत समाजवादी पार्टीका उपमहासचिव तथा कार्यालय सचिवको जिम्मेवारीमा थिए। २०७० सालको संविधानसभा निर्वाचनमा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए। त्यस निर्वाचनमा उनले कांग्रेसका देवप्रसाद तिमल्सिनालाई पराजित गरेका थिए ।

त्यसपछि भएका दुई निर्वाचनमा भट्टराई उम्मेदवार बनेनन् भने तिमल्सिनाले निरन्तर जीत हासिल गरे। १२ वर्षपछि पुनः तिनै तिमल्सिनासँगको प्रतिस्पर्धामा उत्रिँदा भट्टराई इतिहास दोहोर्‍याउने दाउमा छन्।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले नेपाली कांग्रेसलाई समर्थन गरेकाले कांग्रेसले यहाँ सहज जीत निकालेको थियो। तर यसपटक माओवादी र समाजवादीको एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवारका रूपमा मैदानमा उत्रिँदा भट्टराई बलियो दावेदारका रूपमा देखिएका छन्।

२०७९ सालको समानुपातिक मत परिणामअनुसार कांग्रेसले १४ हजार २१८ मत पाउँदा एमालेले ११ हजार २३१ मत पाएको थियो। माओवादी केन्द्रले ९ हजार ३१९ मत ल्याउँदा एकीकृत समाजवादीले ९ हजार १७९ मत पाएको थियो। अघिल्लो निर्वाचनमा नयाँ दलको प्रभाव न्यून रहे पनि यसपटक नयाँ राजनीतिक शक्तिहरू चुनौतीका रूपमा उभिन सक्ने सम्भावना भने कायमै छ।

spot_img

ताजा अपडेट

लोकप्रिय