महोत्तरी,१५ फागुन । ५८ वर्षीय रामलखन साह कानु आगामी प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट महोत्तरी क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका छन् । महोत्तरीमै जन्मिएका उनी भँगाहा नगरपालिका, हतिसर्वाका स्थायी बासिन्दा हुन् । उनी विगत लामो समयदेखि स्थानीय जनसेवा र सामाजिक कार्यमा समर्पित रहँदै आएको बताउँछन् ।
उनले स्थानीय श्री लक्ष्मी प्राथमिक विद्यालय, हतिसर्वाबाट आफ्नो विद्यालय तहको शिक्षा सुरुवात गरेका थिए । औपचारिक रूपमा उनले साधारण शैक्षिक योग्यता उल्लेख गरेका छन् । राजनीतिक यात्राको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रवादी र परम्परागत मूल्य–मान्यतामा आधारित विचारधारालाई आत्मसात गर्दै उनी अहिले मतदाताहरूको घरदैलोमा पुगिरहेका छन् ।
महोत्तरी क्षेत्र नम्बर २ मा यस पटक कडा प्रतिस्पर्धा देखिएको छ, जहाँ उनी ३७ जना उम्मेदवारहरूको बीचमा आफूलाई वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गरिरहेका छन् । विशेषगरी ठूला भनिएका राजनीतिक दलहरूले यस क्षेत्रको विकासमा उचित ध्यान नदिएको गुनासो बढिरहेका बेला कानुले राप्रपाको ‘सुशासन र राष्ट्रियता’ को एजेन्डालाई मुख्य चुनावी मुद्दा बनाएका छन् ।
महोत्तरी २ को प्रमुख समस्याको रूपमा रहेको रातु नदीको कटान र डुबान नियन्त्रणलाई उनले आफ्नो पहिलो प्राथमिकतामा राखेका छन् । साथै, कृषि प्रधान क्षेत्र भएकाले किसानहरूले भोग्नुपरिरहेको मलखादको अभाव र सिँचाइको समस्या समाधानका लागि ठोस पहल गर्ने उनको प्रतिवद्धता रहेको छ ।

