काठमाडौं,१८ फागुन । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिनसमेत बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। केन्द्रीय बैंकले होली पर्व तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन फागुन २१ गते बिहीबार बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाउन भनेको हो।
राष्ट्र बैंकका अनुसार सरकारी कारोबारका लागि तोकिएका वाणिज्य बैंकहरूले भुक्तानी व्यवस्था तथा राजस्व दाखिला कार्य नियमित रूपमा सञ्चालन गर्नुपर्नेछ। यसैगरी निर्वाचन प्रचार–प्रसारका क्रममा खोलिएका बैंक खातामार्फत हुने नगद, चेक वा अन्य विनिमय साधनको दाखिला तथा भुक्तानी सेवा अवरुद्ध नहुने गरी आवश्यक प्रबन्ध मिलाउन पनि निर्देशन दिइएको छ।
केन्द्रीय बैंकले सार्वजनिक बिदाका दिन अत्यावश्यक आर्थिक तथा निर्वाचनसम्बन्धी कारोबार सहज बनाउन यस्तो व्यवस्था गरिएको जनाएको छ।

