वीरगन्ज,२४ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित सुशील कुमार कानु ले मतदातालाई धन्यवाद दिन घरदैलो कार्यक्रम सुरु गरेका छन्। शनिबार घोषित मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कानु फराकिलो मतान्तरले विजयी भएका थिए।
निर्वाचित भएको भोलिपल्टै आइतबारदेखि उनी वीरगन्ज महानगरपालिका वडा नम्बर १, ३, ६ र ९ मा पुगेर स्थानीय जनतासँग भेटघाट गर्दै धन्यवाद व्यक्त गरे। स्थानीय बासिन्दाले सांसद कानुलाई खादा र माला लगाएर भव्य स्वागत गरेका थिए।
कानुले मतदाताको साथ, सहयोग र समर्थनकै कारण आफू निर्वाचित भएको बताए। उनले जनताको समस्या, सुझाव र गुनासा सुन्न घरदैलोमा आएको बताए र निरन्तर जनताको माझमा रहिरहने प्रतिबद्धता व्यक्त गरे।
सांसद कानुले परिवर्तन र सुशासनको चाहनामा रास्वपाले पाएको जनमतको कदर गर्दै, जनअपेक्षाअनुसार काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

