काठमाडौँ,२४ फागुन । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रवि लामिछाने संसद् प्रवेश गर्न असक्षम भएका छन्। उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका तीन वटा अभियोग लागेका कारण सांसदको शपथ लिन नपाउने अवस्था आएको हो।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी का अनुसार, फौजदारी मुद्दा विचाराधीन रहेकाले लामिछानेले सांसद पद सम्हाल्न वा शपथ लिन पाउनु हुँदैन। उनी निलम्बनमा रहने र केवल अन्तिम फैसलामा निर्दोष ठहर भए मात्र सांसद पद कायम हुने बताइएको छ।
लामिछानेमाथि कास्कीको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दा, साथै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा दर्ता भएपछि तत्कालीन सभामुखले निलम्बनको सूचना प्रकाशित गरेका थिए। हाल, उनीविरुद्ध अभियोगपत्र संशोधनको प्रक्रिया महान्यायाधिवक्ता कार्यालयले अघि बढाइरहेको छ।
महान्यायाधिवक्ता कार्यालयले केही जिल्ला अदालतमा ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ सम्बन्धी दाबी हटाउने निर्णय गरे पनि वरिष्ठ अधिवक्ता त्रिपाठी र अन्यले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। सर्वोच्च अदालतले लिखित जवाफ माग्दै मुद्दा विचाराधीन छ।
यदि जिल्ला अदालतले अभियोग संशोधन स्वीकार गरे, भने लामिछाने संसद प्रवेश गर्न सक्नेछन्। तर संशोधन अस्वीकृत भएमा अन्तिम फैसला नआएसम्म उनी सांसद पदमा शपथ लिन र संसदमा भाग लिन पाउने छैनन्।

