रुकुमपश्चिम,२६ फागुन । रुकुमपश्चिम को बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिक सानीभेरी नदी मा दुई किशोरीको शव फेला परेको छ भने अर्की एक किशोरी अझै बेपत्ता रहेकी छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार बिहान नदीको किनारमा करिब पाँच सय मिटरको दूरीमा दुई अलग–अलग स्थानमा किशोरीहरूको शव फेला परेको हो।
प्रहरीका सूचना अधिकारी हरिप्रसाद पुन का अनुसार मृत भेटिएका किशोरीहरू बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया कल्पना ओली र १२ वर्षीया उर्मिला ओली हुन्। उनीहरूको शव भेरी नदी किनारमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोमबार बेलुका तीन जना किशोरी छिमेकी गाउँमा लागेको विवाह समारोहमा सहभागी हुन घरबाट निस्किएका थिए। विवाहबाट फर्किने क्रममा उनीहरू बेपत्ता भएका थिए। उनीहरूसँगै गएकी १३ वर्षीया सपना ओली भने अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुमानअनुसार विवाहबाट फर्कँदै गर्दा नदीले बगाएको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पुनको नेतृत्वमा टोली परिचालन गरिएको छ भने नेपाल प्रहरी अन्तर्गतको अस्थायी प्रहरी पोस्ट छिनखेतबाट पनि प्रहरी घटनास्थलमा खटिएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको र खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

