काठमाडौँ,२७ फागुन । नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पद रिक्त भएसँगै नयाँ नियुक्तिका लागि बैंकभित्र प्रतिस्पर्धा तीव्र बनेको छ। पाँच वर्षे कार्यकाल पूरा गरी नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र अवकाश पाएपछि ती पद खाली भएका हुन्।
नेपाल राष्ट्र बैंक ऐनअनुसार गभर्नरको सिफारिसमा सरकारले कार्यकारी निर्देशकहरूमध्येबाट डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था रहेको छ। यही प्रावधानका कारण अहिले बैंकभित्र कार्यरत वरिष्ठ अधिकारीहरूबीच प्रतिस्पर्धा र लबिइङ बढेको छ।
वर्तमान गभर्नर डा. विश्व पौडेलले बैंकका १८ जना कार्यकारी निर्देशकहरूमध्येबाट योग्यता, वरिष्ठता र कार्यक्षमताका आधारमा चार जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्नेछ। रिक्त पद दुई भए पनि नियमअनुसार दोब्बर अर्थात् चार जनाको नाम सिफारिस गरिनेछ।
डेपुटी गभर्नरका सम्भावित उम्मेदवारहरूमा नरेश शाक्य, रेवतीप्रसाद नेपाल, रामु पौडेल, विश्रुत थापा, डा. सत्येन्द्र तिमिल्सिना र रामशरण खरेल लगायतका वरिष्ठ अधिकारीहरू चर्चामा छन्। यद्यपि १८ जना कार्यकारी निर्देशक सबै नै योग्यता पुगेका पात्र मानिन्छन्।
गभर्नरको सिफारिस र सरकारको निर्णयबीचको समन्वयले अन्ततः नयाँ डेपुटी गभर्नरको टुंगो लाग्नेछ।
अर्थतन्त्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको र निर्वाचनपछि नयाँ राजनीतिक समीकरण बन्ने क्रममा रहेको अवस्थामा यी नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। एकातिर राष्ट्र बैंकको स्वायत्तता कायम राख्ने आवश्यकता छ भने अर्कोतिर सरकारसँग प्रभावकारी समन्वय गर्न सक्ने नेतृत्वको अपेक्षा गरिएको छ।

