रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिट सर्वोच्च अदालतमा सुनुवाइको तयारी

spot_img

काठमाडौँ,२७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि सहकारी ठगीसँगै दायर गरिएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ता गर्न माग गर्दै दायर रिटको सुनुवाइ सर्वोच्च अदालतमा हुने भएको छ।

सो रिट न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइको लागि पेसी तोकिएको छ।

महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेका सहकारी ठगीसहितका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएकी थिइन्। त्यस निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले रिट दायर गरेका थिए।

महान्यायाधिवक्ताको पुस ३० मा पेस गरिएको सात पृष्ठ लामो ‘टिप्पणी र आदेश’ अनुसार, लामिछानेमाथि केवल सहकारी ठगी मुद्दा मात्रै चलाउने र अन्य दुई गम्भीर प्रकृतिका मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिइएको थियो।

यस निर्देशन अनुसार कास्की र रुपन्देही जिल्ला अदालतमा निवेदन पेस भए पनि, सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएकाले सुनुवाइ हुन सकेको छैन। काठमाडौँ र पर्सा जिल्ला कार्यालयहरूले भने लामिछानेसहितको अभियोगपत्र संशोधनका लागि जिल्ला अदालतमा निवेदन पेस गरेका छैनन्।

spot_img

ताजा अपडेट

लोकप्रिय