काठमाडौं,३० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज तय गरिएको सचिवालय बैठक स्थगित भएको छ। आजको बैठकमा समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाउने तयारी गरिएको थियो।
तर अधिकांश सचिवालय सदस्यहरूको अनुपस्थितिका कारण बैठक स्थगित गरिएको रास्वपाकी सह–प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। सचिवालय सदस्य विरातभक्त श्रेष्ठले मौसमको तीव्र परिवर्तन, बढ्दो प्रदूषण र अत्यधिक धपेडीका कारण स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै सार्वजनिक रूपमा अनुपस्थित रहने बताएका थिए। उनका साथै अन्य केही सदस्यहरू पनि बैठकमा उपस्थित हुन नसक्ने अवस्थामा पुगेका थिए।
रावलका अनुसार ‘चुनावपछिको दौडधुप, मौसम परिवर्तन र स्वास्थ्यसम्बन्धी समस्याका कारण अधिकांश सचिवालय सदस्य उपस्थित हुन नसकेकाले आजका लागि बैठक स्थगित गरिएको हो।’ बैठक भोलि आइतबार बिहान १० बजे बस्ने तयारी गरिएको छ ।

