spot_img

धनुषा–१ को विवादित उम्मेदवारीबारे सर्वोच्चमा आज सुनुवाइ

spot_img
spot_img

काठमाडौं,०१ चैत । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किसोरी साहको उम्मेदवारी खारेजीसम्बन्धी विवादमा आज सर्वोच्च अदालतमा महत्वपूर्ण सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको छ। यस सुनुवाइले धनुषा–१ को चुनावी परिणाम र त्यहाँको प्रतिनिधित्वमा महत्वपूर्ण प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।

यसअघि शुक्रबार न्यायाधीश शारङ्गा सुवेदीको इजलासमा मुद्दा परेको थियो। तर, उनले साहसँग सम्बन्धित अर्को मुद्दामा यसअघि नै आदेश दिएकाले स्वार्थ बाझिन सक्ने भन्दै उक्त मुद्दा हेर्न नमिल्नेमा राखेकी थिइन्। त्यसपछि नयाँ इजलासमा आज सुनुवाइ हुन लागेको हो।

निर्वाचन आयोगले कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको कारण देखाउँदै फागुन १९ गते साहको उम्मेदवारी खारेज गरेको थियो। त्यसपछि साहले आफूलाई अन्यायपूर्वक कालोसूचीमा राखिएको भन्दै सर्वोच्च अदालतमा दुई वटा रिट निवेदन दायर गरेका थिए।

तीमध्ये एक रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले बिहीबार साहलाई कालोसूचीबाट हटाउन आदेश दिएको थियो। कालोसूचीको समस्या समाधान भए पनि निर्वाचन आयोगले गरेको उम्मेदवारी खारेजीको निर्णय बदर हुन्छ कि हुँदैन भन्ने विषय अब अदालतको मुख्य निर्णयको विषय बनेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय