चालु आवको ८ महिनामा सरकारको आम्दानी लक्ष्यको ५०.८० प्रतिशत

spot_img

काठमाडौं,०१ चैत  । अर्थ मन्त्रलालका अनुसार सरकारले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ५०.८० प्रतिशत राजस्व संकलन गरेको छ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा सरकारले कुल ७ खर्ब ५१ अर्ब ८५ करोड ५६ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको हो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.०४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा सरकारले ७ खर्ब २९ अर्ब ६५ करोड ८८ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।

राजस्वको शीर्षकअनुसार सो अवधिमा भन्सारबाट १ खर्ब ५५ अर्ब ९० करोड १४ लाख रुपैयाँ संकलन भएको छ। त्यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) मार्फत २ खर्ब २५ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ तथा अन्तःशुल्कबाट १ खर्ब २० अर्ब ३६ करोड ७३ लाख रुपैयाँ राजस्व उठेको छ।

यसैगरी आयकरबाट १ खर्ब ७० अर्ब ८० करोड ४१ लाख रुपैयाँ संकलन भएको छ भने शिक्षा सेवा शुल्क र अन्य शीर्षकबाट ३ अर्ब ९७ करोड ८५ लाख रुपैयाँ आम्दानी भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी गैरकर राजस्वबाट ७० अर्ब ६९ करोड ४८ लाख रुपैयाँ र विविध शीर्षकबाट ४ अर्ब ५७ करोड ६१ लाख रुपैयाँ आम्दानी भएको तथ्यांकले देखाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय