सिटिजन्स बैंक विराटनगर शाखामा करिब ५ करोडको हिनामिना, ५ कर्मचारी निलम्बित

spot_img

काठमाडौं,०२ चैत । सिटिजन्स बैंक इन्टरनेसनलको विराटनगरस्थित कञ्चनबारी शाखामा झण्डै ४ करोड ९१ लाख रुपैयाँ बराबरको वित्तीय हिनामिना भएको घटना सार्वजनिक भएको छ। बैंकको आन्तरिक लेखा परीक्षण (अडिट) पछि उक्त घोटाला उजागर भएको हो।

बैंक स्रोतका अनुसार, शाखामा कार्यरत केही कर्मचारीहरूको मिलेमतोमा ग्राहकहरूले मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट) मा राखेको रकमलाई नै धितो देखाएर नक्कली कर्जा फाइल तयार गरी रकम निकाल्ने काम गरिएको पाइएको छ। यसरी निक्षेपकर्ताहरूलाई कुनै जानकारी नदिई उनीहरूको बचतलाई आधार बनाएर करोडौँ रुपैयाँ दुरुपयोग गरिएको बताइएको छ।

प्रारम्भिक अनुसन्धानमा रोजी कँडेलको नेतृत्वमा यो अनियमितता भएको आशंका गरिएको छ। घटनामा संलग्न रहेको आरोपमा बैंकले ५ जना कर्मचारीलाई तत्काल निलम्बन गरेको छ। बैंक प्रशासनले घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङमा औपचारिक उजुरी दर्ता गरिसकेको छ। मोरङका प्रहरी प्रमुख एसपी कविद कट्टुवालले बैंकबाट उजुरी प्राप्त भएको पुष्टि गर्दै घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रहरीले बैंकबाट सम्बन्धित कागजातहरू माग गरी हिनामिनामा कस–कसको संलग्नता छ र रकम कहाँ पुगेको छ भन्ने विषयमा विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। यसैबीच, बैंक प्रशासनले हिनामिना भएको रकम असुलउपर गर्ने र दोषीलाई कडा कानुनी कारबाही गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय