रौतहट,०३ चैत । सोमबार राति आएको विनाशकारी हावाहुरीले रौतहटका किसानलाई ठूलो मार गरेको छ। करिब दुई घण्टा चल्ने तीव्र हावाहुरीले जिल्लाको उत्तरी भेगमा केरा र मकै बालीमा व्यापक क्षति पुर्याएको छ।
विशेषगरी चन्द्रपुर नगरपालिका–गैडाटार क्षेत्रमा लगाइएको व्यावसायिक केरा खेती हावाहुरीले उखेल्दा किसानहरू बिचल्लीमा परेका छन्। पाक्ने अवस्थामा रहेका केराका बोटहरू जरैदेखि उखेलिएका वा बीचैबाट भाँचिएका छन्। यसले सयौँ बिघामा फैलिएको केरा खेती नष्ट भई लाखौँको लगानी नष्ट भएको छ। स्थानीय किसान काजीमान माझीले भने, “पाक्न लागेको फसल भित्र्याउने सपना बुनेका हामी अहिले बारीमा ढलेका बोट हेरेर रुनु न हाँस्नुको अवस्थामा छौं।”
हावाहुरीको असर मकै बालीमा पनि व्यापक देखिएको छ। चन्द्रपुर, वृन्दावन, गुजरा र फतुवा–विजयपुर नगरपालिकाका विभिन्न वडाहरूमा लगाइएको मकै बालीमा हुरीले ठूलो क्षति पुर्याएको छ। वृन्दावन नगरपालिका–१ मा मात्रै करिब २०० बिघा मकै बाली नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ। किसान प्रेमशंकर यादवले भने, “मलखादको अभाव र अनिश्चित मौसमको सामना गर्दै हुर्काएको खेती भित्र्याउने बेलामा प्रकृतिले ठगेको छ।”
रौतहटका कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सरोज मण्डलले हावाहुरीका कारण बालीनालीमा व्यापक क्षति पुगेको पुष्टि गर्दै सबै क्षेत्रबाट क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको जानकारी दिएका छन्। प्रारम्भिक रिपोर्टले किसानलाई ठूलो नोक्सानी भएको देखाएको छ।
स्थानीय किसानहरू प्राकृतिक विपत्तिले हरेक वर्ष समस्या सिर्जना गरे पनि राज्यबाट उचित क्षतिपूर्ति र राहत नपाएको भन्दै आक्रोशित छन्। उनीहरूले चेतावनी दिएका छन् कि यस्तो अवस्था जारी रह्यो भने किसानहरू खेतीपातीबाटै पलायन हुनुपर्ने अवस्था आउन सक्छ।




