सिरहा,०६ चैत । सिरहा जिल्ला अदालतअगाडि रहेको बार एशोसिएसन कार्यालयमा भएको कुकर बम विस्फोट घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा सुखीपुर नगरपालिका–३ निवासी गुमस्ता यादव रहेका छन्। उनलाई शंकाको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ र हालसम्म चार दिनदेखि अनुसन्धान भइरहेको छ। उनले अनुसन्धान निष्कर्षमा पुगेपछि मात्र थप विवरण सार्वजनिक गरिने बताए। पक्राउ परेका यादव सिरहा अदालतअगाडि लेखापढीको कार्यालय सञ्चालन गर्दै आएका थिए।
उक्त विस्फोटमा कार्यालयमा कार्यरत एक कर्मचारी घाइते भएका छन्। घाइते हुनेमा सिरहा नगरपालिका–१ निवासी सौरभ यादव रहेका छन्, जसको खुट्टामा चोट लागेको छ। विस्फोटका कारण कार्यालयभित्र रहेका कम्प्युटर लगायतका सामग्रीमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ।




