टाटा मोटर्सले अप्रिलदेखि कार र एसयूभीको मूल्य बढाउने

spot_img

काठमाडौं,०७ चैत । भारतको प्रमुख सवारी निर्माता टाटा मोटर्स प्यासेन्जर भेहिकल्स लिमिटेडले आगामी अप्रिल १, २०२६ देखि आफ्ना कार तथा एसयूभीको मूल्य बढाउने घोषणा गरेको छ। कम्पनीले बढ्दो उत्पादन लागत र कच्चा पदार्थको मूल्यवृद्धिका कारण यस्तो निर्णय लिनुपरेको जनाएको छ।

कम्पनीका अनुसार आन्तरिक दहन इञ्जिन (ICE) पोर्टफोलियोमा औसत ०.५ प्रतिशतसम्म मूल्य वृद्धि हुनेछ, यद्यपि मोडल र भेरियन्ट अनुसार मूल्य फरक–फरक हुन सक्छ। यसअघि कम्पनीले व्यावसायिक सवारी साधनको मूल्य पनि १.५ प्रतिशतसम्म बढाउने निर्णय गरिसकेको छ, जुन सोही मितिबाट लागू हुनेछ।

मूल्य वृद्धिको घोषणासँगै भारतीय शेयर बजारमा टाटा मोटर्सको शेयर मूल्य समेत वृद्धि भएको छ। कम्पनीको शेयर २.८१ प्रतिशतले बढेर ४३७.६० भारुमा बन्द भएको थियो। यसअघि विलासी सवारी निर्माता मर्सिडीज–बेन्ज इन्डियाले पनि आफ्ना गाडीको मूल्य बढाएको थियो।

अटोमोबाइल क्षेत्र हाल कच्चा पदार्थको महँगी, आपूर्ति शृङ्खलामा समस्या र सेमिकन्डक्टर अभाव जस्ता चुनौतीसँग जुधिरहेको छ। साथै, विश्व बजारमा सवारी साधनको माग घट्दो क्रममा रहेकाले उद्योगमा दबाब बढेको छ।

विशेषज्ञहरूका अनुसार यस्तो अवस्थामा गरिएको मूल्य वृद्धिले उपभोक्तामाथि थप आर्थिक भार पर्ने देखिन्छ।

spot_img

ताजा अपडेट

लोकप्रिय