spot_img

एकैदिन सुनमा ठूलो गिरावट, तोलामा १२ हजार ५ सयले घट्यो

spot_img
spot_img

काठमाडौं,०८ चैत । नेपाली बजारमा आइतबार सुनको मूल्यमा एकैदिन ठूलो गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यससँगै पछिल्लो एक सातामै सुनको मूल्य कुल २७ हजार ४ सय रुपैयाँले घटिसकेको छ। गत आइतबार सुन ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअघि माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव, विशेषगरी तेलको मूल्य वृद्धिसँगै अमेरिकी डलरको माग बढ्नु र ब्याजदर बढ्ने दबाबले सुनको मूल्यमा गिरावट आएको विश्लेषण गरिएको छ। सुन बिक्री बढेर डलरको आपूर्ति बढ्दा पनि मूल्यमा थप दबाब परेको जनाइएको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।

एक साताको अवधिमा चाँदीको भाउ पनि प्रतितोला ७३० रुपैयाँले घटेको छ। गत आइतबार ५ हजार २७० रुपैयाँ रहेको चाँदी माघ १५ गते ७ हजार ५०५ रुपैयाँको उच्च बिन्दुमा पुगेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय